नेपालमा पूर्णकालीन लेखक निकै कम छन् । अर्थात् कुनै पनि जागिर, व्यवसाय नगरी लेख्ने मात्रै लेखक औँलामै गनिन्छन् । तिनैमध्ये एक व्यावसायिक लेखक हुन् कैलाली टीकापुरका विवेक ओझा, जो आजै मात्र नेपालकै प्रतिष्ठित ‘मदन पुरस्कार’ विजेता घोषित भएका छन् । युद्धविरोधी र जीवनवादी दृष्टिकोणमा लेखिएको पुस्तक ‘ऐँठन’ले उनलाई मदन पुरस्कार २०७९ जिताएको छ । जगदम्बा-श्री टेकवीर मुखियाले पाएका छन् ।
‘संक्षिप्त सूचीमा परेपछि विजेता हुने कुरामा विश्वास बढेको थियो । खुसी लागेको छ । पुरस्कार पाउँदा अनि पाठक बढ्दा कुन लेखक खुसी हुँदैन होला र !,’ उनले शिलापत्रसित भने ।
उपन्यास ‘ऐँठन’ उनको तेस्रो कृति हो । यसअघि उपन्यास ‘ऐलानी’ र गजलसङ्ग्रह ‘एक पाइला आकाशमा’ उनका प्रकाशित कृति हुन् ।
थन्किएको कथासङ्ग्रहको एउटा कथा ‘ऐँठन’
२०७० सालमा उनले कथासङ्ग्रह लेखिसकेका थिए, जुन अप्रकाशित थियो । विविध कारण कथासङ्ग्रहले पुस्तकको रूप लिन पाएन । त्यसैले उनले पाण्डुलिपि थन्क्याए । अनि उपन्यास लेख्न थाले । २०७४ सालमा विवेकले आफ्नो पहिलो कृति ‘ऐलानी’ लाई जन्म दिए ।
उनले आफ्नो पूरै समय लेखनमै लगाइरहेका थिए । त्यसैले दोस्रो पुस्तकको काममा लाग्ने उनले तय गरे । र, उघारे २०७० सालमा थन्क्याएको पाण्डुलिपि । कथासङ्ग्रहको तयारीस्वरूप उनी कथाहरू सम्पादन गर्न थाले । तेस्रो कथा सकेर चौथो कथामा पुगेपछि लेखक ओझा रोकिए । चाैथो कथा युद्धसम्बन्धी थियो । यसले उनको ध्यान खिच्यो । त्यसलाई नाघेर अर्को कथामा जान सकेनन् उनी । अनि पल्टिएन अर्को कथाको पाना ।
पाण्डुलिपिमा युद्धको कथा पल्टिएका बखत काठमाडाैंमा युद्ध सम्झाउने आन्दोलन रन्किएको थियो । शरीरभित्र गोली बोकेर तत्कालीन सशस्त्र युद्धका छापामारदेखि द्वन्द्वपीडितहरू सडकमा न्याय मागिरहेका थिए । युद्धमा खुट्टा गुमाएकाहरू घिस्रिँदै माइतीघरमा हक मागिरहेको थिए । यही बेला विवेकले पल्टाएका थिए युद्धको एक बर्बर कथा ।
दोस्रो पुस्तक ‘ऐँठन’ युद्धको विषयमा लेख्न बस्दा उनलाई कतै ऐलानीकै भोगाइ दोहोरिने त होइन भन्ने चिन्ता लागेको थियो । तर, यस्तो केही भएन । बरु पुस्तकलाई असाध्यै रुचाइयो । ‘ऐँठन’ पद्मश्री पुरस्कार २०७९ को १५ सूचीमा पनि परेको थियो ।
लडाइँका कारण मान्छेले जीवनभर झेल्नुपर्ने पीडा सम्झेर मथिङ्गल हल्लियो उनको । त्यसैले पुस्तक बन्ने तयारीमा रहेको कथासङ्ग्रह पाण्डुलिपि नै रह्यो । तर, कथासङ्ग्रहभित्रको युद्धसम्बन्धी त्यही कथा उपन्यास हुने भयो । विवेकले उपन्यास लेख्न ढिला गरेनन् । यसलाई पूर्ण पार्न उनले थुप्रै अध्ययन र अनुसन्धान गरे । डुलघुम गरे ।
नाम अर्कै थियो, एक्कासि फेरियो
लामो मिहिनेतपछि पाण्डुलिपि तयार गरेर उनले उपन्यासको नाम ‘उप्रान्त’ राखे । ओझाले प्रकाशक साङ्ग्रिला बुक्सका मणि शर्मालाई पाण्डुलिपि पठाए ।
पाण्डुलिपि पढेपछि शर्माले भनेछन्, ‘मलाई त यो पुस्तकले कक्रक्कै पार्यो । यसको नाम ‘उप्रान्त’ बाहेक अरु केही राख्न पाए हुन्थ्यो ।’
लेखक ओझालाई खासमा आफैँले राखेको ‘उप्रान्त’ नाम निकै मन परेको थियो । यद्यपि, प्रकाशक शर्माको सुझावलाई उनले झट्टै अस्वीकार गरेनन् ।
उनीहरूले छलफल गरे । यसै क्रममा शर्माले भने, ‘पुस्तकले ऐँठनकै स्थितिमा पुर्यायो, नाम नै ऐँठन राखिदिऔँ ।’
ख्यालठट्टामै ‘ऐँठन’ नाम राख्ने कुरा भयो । तर, लेखक विवेकलाई यो नाममा चित्त बुझिरहेको थिएन । पहिलाको उपन्यास पनि ‘ऐ’ अक्षरबाटै सुरु हुन्थ्यो । दोस्रो पनि ‘ऐ’ नै हुँदा पहिलाकै शृङ्खलाजस्तो, केही फरक नभएकोजस्तो हुन्छ भन्ने लागेको थियो उनलाई ।
त्यसैले उनले पुस्तकको नामबारे थप राय लिने निधो गरे । र, पुस्तकको नयाँ नाम सुनाए पाण्डुलिपि पढिसकेकाहरूलाई । अधिकांशले नयाँ नाम नै मन पराएपछि विवेक ‘कन्भिन्स’ भए ।
२०७० सालमा कथासङ्ग्रहको पाण्डुलिपिबाट निकालिएको एउटा कथा, उपन्यास ‘उप्रान्त’ नाम बोकेर प्रकाशककहाँ पुग्यो, पाठकका हातमा पुग्दा ‘ऐँठन’ भयो, जसले विवेकको नाममा ४ लाख राशिको प्रतिष्ठित मदन पुरस्कार थमाएको छ ।
युद्धइतर तर्क, जीवनवादी विचार
‘ऐँठन’मार्फत लेखकले निकै कलात्मक तरिकाले विषयवस्तु पस्केका छन् । संसारमा कतै पनि युद्ध किन हुनु हुँदैन भन्ने तर्क उनले पुस्तकका विभिन्न पात्रहरूमार्फत गरेका छन् ।
एक कालमा हुने युद्धले दाग छोडेर जान्छ, यसबाट डामिएका व्यक्तिले जीवनभर यसको मूल्य चुकाइरहेका हुन्छन्– मानसिक अस्पतालमा भेला भएका पात्रहरूमार्फत ऐँठनले यही सन्देश प्रवाह गर्न खोजेको छ ।
नेपालमा १० वर्षसम्म गृहयुद्ध चल्यो । त्यसमा भिड्ने विद्रोही र राज्य गरी दुई पक्ष थिए । तर, यसको असर केवल दुई पक्षलाई परेन, कुनै पक्षमा नरहेका सर्वसाधारणलाई पनि पर्यो । अर्थात् युद्धलाई अस्वीकार गरेका मानिस पनि यसबाट प्रताडित बन्न पुगे । जस्तो कि, उपन्यासको ववनकुमार निर्दोष सर्वसाधारण थियो । तर, उसले दुवै पक्षबाट चरम यातना भोग्यो । सन्तान र श्रीमती गुमायो । त्यसैको आँखाबाट पनि लेखकले युद्धको क्रूरता, कुरुपता देखाएका छन् ।
उनले युद्धबाट प्रभावित मानिसहरूलाई अस्पतालमा भेला गराएका छन्, जहाँ डाक्टरहरूसमेत मानसिक रोगी नै हुन्छन् । आफ्नो उपन्यासलाई नेपालको गृहयुद्धबाट बाहिर निकाल्न ओझाले जापानको हेरोसिमाबाट पनि एक पात्र झिकाएका छन्, जसले परमाणु बम आक्रमणमा आफ्नो पूरै परिवार गुमाएको हुन्छ ।
उपन्यासका पात्रको दारुण कथाले मथिङ्गल हल्लाउँछ । युद्धपीडितको भोगाइ पढिरहँदा ऐँठन गराउन सक्ने भएकाले पुस्तकको नामको औचित्य थप बढेर गएको महसुस हुन्छ । पुस्तकका संवादहरू झन् पेचिला र गहन लाग्छन् ।
पुस्तकको सार के छ भने, युद्ध कुनै निश्चित कालखण्डमा भएको हुन्छ तर यसबाट प्रभावित मानिसहरू बाँचुञ्जेल विक्षिप्त भइरहेका हुन्छन् । त्यसैले संसारमा कतै पनि युद्ध हुनु हुँदैन ।
उपन्यासका पात्रको दारुण कथाले मथिङ्गल हल्लाउँछ । युद्धपीडितको भोगाइ पढिरहँदा ऐँठन गराउन सक्ने भएकाले पुस्तकको नामको औचित्य थप बढेर गएको महसुस हुन्छ । पुस्तकका संवादहरू झन् पेचिला र गहन लाग्छन् ।
‘युद्धबारे नै किन लेख्नुभयो ? तपाईंलाई लाग्छ– युद्धबारे अझै कृतिहरू लेखिनुपर्छ ?’
जवाफमा लेखक विवेक ओझाले भने, ‘लेखिनुपर्छ । १० हजार वर्षदेखि मानिस समाजमा बसिरहेको छ । मानिसका लागि ठूलो कुरा जीवन हो । ब्रम्हाण्डमा भएका स्रोत बाँडीचुँडी खाएर हासीखुसी र सन्तुष्ट जीवन बिताउनुपर्छ भन्ने मेरो तर्क हो । आफूआफू युद्ध गरेर के फाइदा ? युद्धको नजिता आखिर जीवनको क्षति नै होइन र ?’
ऐलानीको त्यो विवाद
पहिलो उपन्यास ‘ऐलानी’ लेखेपछि ओझाले केही समय मानसिक तनाव नै झेल्नुपरेको थियो, जसमा उनले बादी समुदायको विषय उठान गरेका छन् । बादी महिलाहरूको बाध्यता, विवशता र निरीहताको कथा ‘ऐलानी’ले भन्छ । तर, बादी समुदायकै कतिपय अगुवाले पुस्तकमार्फत लेखकले बादी महिलालाई ऐलानी जग्गासँग तुलना गरेको भन्दै सर्वोच्चमा मुद्दा हाले । यो कुराले आफूलाई केही समय मानसिक रूपमा निकै तनावमा पारेको ओझा सम्झिन्छन् । यो मुद्दामा सर्वोच्चले आगामी संस्करण निकाल्दा ध्यान दिन भनेको थियो ।
‘ऐलानी’ मात्रै होइन, त्यो बेला बादी समुदायकै कथामा आधारित उपन्यास नथिया र चलचित्र ‘पण्डित बाजेको लौरी’ विरुद्ध पनि सर्वोच्च अदालतमा रिट परेको थियो । सर्जकहरूले उठान गरेका समस्यातिर ध्यानाकर्षण गराउँदै सर्वोच्चले २८ असोज २०६४ मा सरकार र वादी समुदायबीच भएको सहमति कार्यान्वयन गर्न आवश्यक कानुनी तथा नीतिगत व्यवस्था मिलाउन सरकारका नाममा पनि निर्देशनात्मक आदेश दिएको थियो ।
दोस्रो पुस्तक ‘ऐँठन’ युद्धको विषयमा लेख्न बस्दा उनलाई कतै ऐलानीकै भोगाइ दोहोरिने त होइन भन्ने चिन्ता लागेको थियो । तर, यस्तो केही भएन । बरु पुस्तकलाई असाध्यै रुचाइयो । ‘ऐँठन’ पद्मश्री पुरस्कार २०७९ को १५ सूचीमा पनि परेको थियो । गत असारमा सार्वजनिक सूचीमा जानुका खतिवडाको आतोओडा र इजोरियापछि ‘ऐँठन’ तेस्रोमा थियो ।
फुल टाइम राइटर
विवेक ओझा सानैदेखि साहित्यमा रुचि राख्थे । २ कक्षामै हुँदा आफूले बालकविता लेखेको उनी सम्झिन्छन् । उनका दाजु पनि साहत्यानुरागी छन् । यद्यपि, अहिले बैंकमा काम गर्ने भएकाले लेखनमा समय दिन भ्याउँदैनन् । सानो छँदा दाजुकै कारण कविता लेख्न हाैसिएको विवेक बताउँछन् । सानोमा उनले थुप्रै कविता (तर अप्रकाशित) लेखे भने १२ कक्षा पास गर्दासम्म विवेकले कथासङ्ग्रहको पाण्डुलिपि तयार गरिसकेका थिए ।
अहिले पनि उनी निरन्तर लेखनमै सक्रिय छन् । यो नै उनको ‘फुल टाइम जब’ हो । श्रीमती, बुबाआमा र दाइ पनि उनलाई लेख्न हौस्याइरहन्छन् । ‘परिवारको साथ नहुन्थ्यो भने मलाई निकै अप्ठेरो हुन्थ्यो होला, सबैको हौसलाले नै लेखनमा मेरो यात्रा जारी छ,’ उनले भने ।
Source: Shilapatra