Skip to content
Home » News » साहित्यको शिखर चुमेका विवेक

साहित्यको शिखर चुमेका विवेक

    खासमा विवेक आफ्नै गाउँघरमा बसेर लेखन, कला र साहित्य सिर्जनाको मार्गमा अघि बढे । अछाम जिल्लाको दर्नामा ०४८ साल जेठमा जन्मिएका विवेक शिक्षा आर्जनका लागि ६ वर्षकै उमेरमा माता पितासँगै कैलालीको टीकापुर झरे । कक्षा १२ सम्मको अध्ययन टीकापुरमै सके । त्यसपछि काठमाडौं पुगेर व्यवस्थापनमा स्नातकोत्तर गरे । त्यसपछि भने उनी साहित्य सिर्जनामै तल्लीन छन् ।

    बाल्याकालदेखि नै साहित्य लेखनमा रुचि राख्ने विवकले ०७४ सालमा ‘ऐलानी’ प्रकाशन गरे । पहिलो उपन्यासले निकै राम्रो चर्चा कमायो । तर त्यसमा उनले चित्त भने बुझाएनन् । वादी समुदायका जीवन्त सवालमा सिर्जित ‘ऐलानी’ भन्दा अझै सशक्त कृति रचना गर्ने हुटहुटी थियो मनमा । त्यसै क्रममा उनी तत्कालीन सशस्त्र युद्ध, निरपराधले भोग्नुपरेका पीडासँग ठोकिन पुगे । भुइँमान्छेका वास्तविक आर्तनादहरू समेटेर उपन्यास नै तयार पार्न सकिएला भन्ने सोच भने पलाएको थिएन उनको मनमा ।

    त्यसकारण उनले सुरुमा पाँच वटा कथा लेखे । तर आफैंलाई चित्त बुझेन । त्यसै क्रममा एक दिन माइतीघर मण्डलामा द्वन्द्वपीडितहरूको दृश्य देखेपछि भने सुरु भयो ‘ऐँठन’ लेखनको क्रम । तीनै कथाले नै उपन्यासको बाटोमा डोर्‍याएको बताउँछन् विवेक । ‘अन्ततः पाँच वर्षको मिहिनेतमा तयार भयो ऐँठन,’ उनले भने । महाभारत, जापानको हिरोसिमा र नागासाकीमा भएका नरसंहार र विश्वयुद्ध हुँदै तत्कालीन माओवादी विद्रोहताका राज्य र विद्रोही पक्षबाट भएका हिंसात्मक घटना र निरपराधहरू, उनीहरूका भयानक भोगाइ र कथा समेटेर ‘ऐँठन’ तयार भएको बताउँछन् विवेक ।

    ‘ऐँठन’ विगतमा नेपालीले भोग्नुपरेको द्वन्द्वको अकल्पनीय वर्णनले पाठकलाई बाँधेर राख्न सफल कृति पनि हो । ‘ऐँठन’ मार्फत भने विवेक माओवादी आन्दोलनप्रति निर्मम ढंगले प्रस्तुत भएका देखिन्छन् । त्यसका साथै उनले कृतिमार्फत शान्तिको सन्देश दिन सफल पनि देखिएका छन् । त्यही कृति अहिले भने नेपाली युद्ध साहित्यको एक उम्दा कृति बन्न सफल भएको छ । कारण, विवेकको ‘ऐँठन’ ले २०७९ वर्षको मदन पुरस्कार जित्न सफल भएको छ ।

    ‘विगतमा नेपाल राष्ट्र एवं नेपाली समाजले बेहोरेको द्वन्द्वको दुःस्वप्न र अहिले पनि त्यस दुःस्वप्नले हामीलाई ऐँठनका पीडामा डुबाइरहेको यथार्थलाई स्वप्नलेखनको प्रविधि पनि मिसाई उत्कृष्ट औपन्यासिक कलाको उपयोगद्वारा नवीन किसिमले व्यक्त गरेको हुँदा मदन पुरस्कार २०७९ अर्पण गर्ने निर्णय गर्‍यो,’ मदन पुरस्कार गुठीले उल्लेख गरेको छ । मदन पुरस्कार गुठीले २०७९ मा प्रकाशित ३ सय १३ कृतिमध्ये पाँच वटालाई ‘मदन पुरस्कार श्रेष्ठ सूची २०७९’ मा छनोट गरेको थियो । सुविन भट्टराईको ‘इजोरिया’, द्वारिकानाथ ढुंगेलको ‘चक्रव्यूहमा नेपालको जलस्रोत’, प्रगति राईको ‘थाङ्ग्रा’ र सञ्जय विष्टको ‘माटाको घर’ लाई पछि पार्दै ‘ऐँठन’ पुरस्कारका लागि छानिएको हो ।

    आफ्नो कृति श्रेष्ठ सूचीमा परेपछि विवेकलाई भने बेचैनी बढेको थियो । आफ्नो करिअर नै साहित्य सिर्जनामा समर्पित गरेका लेखक, त्यसमा पनि अघिल्लो पुस्तकको चर्चाका कारण त्यसो हुनु स्वाभाविक नै थियो । ‘ऐँठन’ ले मदन पुरस्कार पाउने आत्मविश्वास पनि जागेको थियो उनमा । तर घोषणा भइसकेपछि खुसी शब्दमा व्यक्त गर्न नसक्ने बताउँछन् विवेक । ‘खासमा असीमित खुसीको बहारले भरिएको छ मन,’ मदन पुरस्कार पाउने खबर सुनेपछिको अनुभूति उनले सुनाए ।

    विवेकले ‘ऐँठन’ मा मूलतः दसवर्षे माओवादी द्वन्द्वको विभीषिकाबाट प्रताडित एउटा पात्रको कथा बुनेका छन् । पुस्तकमा तत्कालीन समयमा राज्य र विद्रोही पक्ष दुवैबाट प्रताडनाको सिकार हुनुपरेका पीडा छन् । ‘ऐँठन’ मा ती प्रताडित पात्रका वेदना र आर्तनादहरू चहर्‍याइरहन्छन् । उपन्यासमा बबन कुमारलाई केन्द्रीय पात्र बनाएका छन् विवेकले । बबन शिक्षक पनि हुन् । गाउँमा लडाइँ सुरु हुन्छ । एक दिनको आक्रमणमा बबनकी श्रीमती घाइते हुन्छिन् । उपचारका लागि श्रीमतीलाई बोकेर स्वास्थ्य चौकीतर्फ जान्छन् । त्यसै क्रममा उनका छोरालाई पनि गोली लाग्छ । यता श्रीमतीले बाटैमा परान छाडिसकेकी हुन्छिन् । गोली लागेको छोराको शव चलिरहेकै हुन्छ । त्यत्तिकैमा छापामारहरूले उनीहरूलाई समातेर एउटै चिहानमा गाडिदिन्छन् । बबनलाई भने आफूहरूसँगै लग्छन् । त्यसक्रममा उनले अनेक ज्यादती देख्छन्, भोग्छन् र सहन विवश हुन्छन् ।

    तत्कालीन सशस्त्र युद्धका कमान्डरहरूको हातमा पटकपटक सत्ताको बागडोर पुगेको छ । तर समाज परिवर्तन गर्छु, व्याप्त विभेद र गरिबी हटाउँछु भनेर युद्धमा होमिएको एउटा योद्धा आज अंगभंगको अवस्था देखे उनले । पर किनारामा रहेका ती तमाम योद्धालाई अहिले आफ्नै जीवन गुजार्नै धौधौ छ । समाजमा गरिबी अन्त्यको त के कुरा ∕ यस्तै यस्तै उद्देलना बोकेर विवेक गहिरो अध्ययनका लागि घुमघाममा निस्किएका थिए । अंगभंग भएका र बेपत्ता पारिएकाका परिवारहरू, थुप्रै संख्यामा त्यसबेलाका बालसैनिकहरूलाई भेटे उनले । उनीहरूका भोगाइ र कष्ट विवेकले उपन्यासमा बुनेका छन् ।

    पहिलो कृति ‘ऐलानी’ का केही सन्दर्भपछि लक्षित समुदायका व्यक्तिहरूबाट मुद्दा मामिला झेलेका विवेकले ‘ऐँठन’ जीवनवादी दृष्टिकोणबाट लेखिएको पुस्तक भएको बताउँछन् । ‘नेपालको द्वन्द्वकालीन समयका हिंसात्मक घटना र त्यसका प्रताडना मात्र नभई विश्वमा भएका ठूल्ठूला नरसंहारकारी युद्धबाट प्रभावितका पीडा साहित्यमार्फत उजागर गर्न खोजेको हुँ,’ उनी भन्छन् । जापानमा परमाणु बम प्रहारपछिका पीडासमेत कृतिमा समेटिएका छन् । सम्पूर्ण परिवार गुमाएका हिरोसिमाका सोराबारे उपन्यासमा उल्लेख छ ।

    महाभारतको युद्धका विभीषिका पनि छन् ‘ऐँठन’ मा । ‘युद्ध जहाँसुकैको होस्, निर्मम हुन्छ । मान्छे मारिन्छन्, विस्थापित हुनुपर्ने हुन्छ । समग्रमा युद्धबाट टाढा हुनुपर्छ भन्ने नै ऐँठनको सन्देश हो,’ विवेकको भनाइ छ, ‘दुनियाँमा वियोगजस्तो पीडादायी भोगाइ अर्को छैन । ऐँठन त्यही वियोगको कथा हो ।’ हतियार बनाउने पैसाले गरिबी निवारण हुन्थ्यो भन्छन् विवेक । ‘त्यसैले ऐँठन शान्ति र जीवनका लागि लेखिएको उपन्यास हो,’ उनले भने ।

    Source: eKantipur

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *